भुवन भण्डारीसँगको सहलेखन
जाडोका बेला आगो ताप्दै हुक्का पिउँदा घामले नेटो काटेको पत्तो नै पाउँदैनन् मध्यपुर थिमिका ७८ वर्षीय रत्नबहादुर प्रजापति । ५ वर्षको चक्चके उमेरमा पहिलो पटक हुक्का तान्दा झन्डै बेहोश भएका थिए रत्नबहादुर । अरुले खाएको देखेर ख्यालख्यालमैं हुक्का गुड्गुड् पार्न थालेका उनलाई चुरोट बिंडीले जस्तो, तमाखुले क्षयरोग हुन्छ भन्ने थाहा छैन । उनको परिवारमा बाबुबाजेकै पालादेखि हुक्का तान्ने चलन थियो । हुक्काको प्रयोगले सुर्तीमा भएको निकोटिन एवं कार्बनमनोअक्साइड पानीमा घुलिंदा नष्ट हुने भएकाले स्वास्थ्यमा त्यति असर नपुर्याउने तर्क कसैकसैको रहे पनि अत्यधिक सेवनबाट भने बेफाइदा पुग्ने कुरामा स्वास्थ्यकर्मीहरुको एकमत छ । नेवार समुदायमा विशेष महत्व राख्ने हुक्का अतिथि सत्कारको एउटा प्रमुख माध्यम मानिन्छ । वृद्ध पाहुनाहरुको लागि मात्रै हैन भरखरै वैवाहिक बन्धनमा बाँधिएका नवदुलाहाको स्वागतमा पनि हुक्कालाई अघि सार्ने गरिन्छ । तर परिवर्तित समयको पृष्ठभूमिसँगै समाजमा सत्कारका नयाँ ढंगहरु विकसित भइसकेकाले हुक्का सत्कारको प्रचलन विस्थापित भएको गुनासो भक्तपुरका ६५ वर्षीय तुलसीबहादुर प्रजापतिको छ । परिवारले हुक्काको कुलत छुटाउन दबाब दिंदादिदै पनि छोड्न नसकेका ५१ वर्षीय तिलकवज्र बज्राचार्यलाई सासूले जिस्काउँदै गाएको गीतले झक्झकाउने हुँदा हूक्का छोड्न उनको मनले मान्दैन रे
जि वःगु खनेवं सुकू लायाः फ्यतुकी
फ्यतुइ हे मलावं होखा चिंल न्ह्यज्याकी
ससःमानं न्ह्यने वयाः भपिभपि भाजु धाइ
अर्थात् ‘भर्खर विवाह भएका बेला ससुराली जाँदा सुकुल ओछ्याएर बस्न नपाउँदै अगाडि हुक्का चिलिम तेस्र्याएर सासूले ‘खानुस् न खानुस् ’ भनेर सत्कार गरिने परम्परा ग्रामीण नेवार समुदायमा अद्यापि रहे पनि आधुनिक शहरी जीवनमा आजभोलि यस्तो संस्कार प्रायः लोप भएको छ । हुक्का छोड्नुको सट्टा यही गीत गुनगुनाउन लामो सर्को मार्ने बज्राचार्य आफ्नो संस्कार विस्थापित भएको चिन्ता व्यक्त गर्छन् । ‘आजभोलि त हुक्काको सट्टामा तातो चिया वा कफीको चलन छ, जमाना धेरै फेरिइसक्यो । पहिलेको जस्तो स्वागत–सत्कार हराइसक्यो ।’ – मन दुखाउँदै बज्राचार्य भन्छन् र्– एक्लै बसेर हुक्का तान्न दत्तचित्त रहेको मान्छेको व्यक्तित्वमा शालीनता आउने अनुभव छ हीराकाजी महर्जनको । हुक्कामा प्रयोग गरिएको पानीलाई मर्केको वा दुखेको ठाउँमा मालिस गर्दा केही मात्रामा भए पनि राहतको अनुभव हुने र तमाखुको डढेको धूलोलाई दाँत माझ्नमा प्रयोग गर्दा चमक आउने बताउँछन् उनी ।
मन नतातेसम्म माघ नै नतात्ने अनुभव गर्दछन् हुक्केबाजहरु । ‘बलिया बाङ्गा बाघलाई दुब्ला माघलाई भन्ने उखान नै छ, जीउ नतताई त्यसै बस्न कहाँ सक्नु’, रत्नबहादुर भन्छन् ।
इतिहासमा राजा महाराजाहरुदेखि साधारण व्यक्तिको प्रचलनमा आएको हुक्का अचेल यसका प्रमुख उपभोक्ता बूढापाकाहरुबाट टाढ्रिदै गएको छ । हुक्का प्रचलनको इतिहासका बारेमा तथ्य किटान गर्न गाह्रो भए तापनि लिच्छवि सौखिन राजाहरुले सुनको हुक्का प्रयोग गरेको देखिन्छ । हुक्काको प्रचलन त्यसपछिका दिनहरुमा केही फैलिने मौका पाएको थियो ।
इतिहासमा अहिलेसम्मको सबैभन्दा पुरानो शैलीको रुपमा पाइएको पित्तलको हुक्का, विगतका राजाहरुले प्रयोग गर्ने सुनको हुक्काकै प्रतिलिपि रुप हो । नेपालभाषामा यसलाई ‘ली होखा’ अथवा साहू महाजनको हुक्का भनेर परिभाषित गरेको पाइन्छ । विभिन्न किसिमका चित्ताकर्षक बुटाहरु कुदिंएको यो हुक्का आजभोलि प्रायः लोप भइसकेको छ । पित्तलको उच्चवर्गीय हुक्काको प्रयोग मध्यमवर्गका व्यक्तिहरुले गर्न नपाउने भएकाले नरिवलको खबटाको हुक्का ‘नैंक्या होखा’ विकल्पका रुपमा प्रचलनमा आएको पाइन्छ । तर, वर्तमानमा बूढापाकाहरुको न्यानो पाउनबाट सबैभन्दा चुकेको हुक्का त्यही अभागी ‘नैक्याः होखा’ नैं हो ।
हुक्केबाजहरुका लागि बाँसको हुक्का ‘सोंथ्या होखा’ एउटा सजिलो विकल्प देखिन्छ । साधारण बाँसको नलीबाट बनाइएको सो हुक्का भित्रै पानी राख्ने अनि त्यसको माथिल्लो भागमा ‘चिलं’ (चिलिम) राख्ने गरिन्छ । प्रायः खेतको काममा व्यस्त रहने ज्यापू समुदायबीच लोकप्रिय यो हुक्का, बोक्दा हलुको र कम खर्चिलो हुनाले पनि होला आफ्नो अस्तित्वलाई बचाइराखेको छ ।
हुक्काको प्रयोगमा निकै कमी आएर दिनको एक धार्नी तमाखु पनि नबिक्ने भएपछि खुद्रा पसले हेरालक्ष्मी रंजीतकारले ५ वर्षदेखि तमाखु बेच्न छाडेकी छिन् । बाबु–बाजेका पालादेखि सक्खर र तमाखु व्यवसाय गर्दै आएका तेजकृष्ण प्रजापतिले पनि सो व्यवसायलाई करिब १० वर्षअगाडि बन्द गरी कोल्डस्टोर सञ्चालन गरिरहेका छन् । यसरी व्यवसाय परिवर्तन गर्नुमा संस्कारमा देखिएको परिवर्तनलाई दोष दिन्छन् उनीहरु ।